म पनि अमेरिका भासिनुपर्ने हो ?

Monday, October 30 2017

म पनि अमेरिका भासिनुपर्ने हो ?

म पनि अमेरिका भासिनुपर्ने हो ?
डा सरु भट्टराई २०७४ कार्तिक १३ सोमबार १५:११:३१ प्रकाशित ५७ पटक पढिएको इन्टर्नसिपको पहिलो दिन नयाँ एप्रोन अनि स्टेथेस्कोप घाँटीमा भिर्दा मनभरि डाक्टर हुनुको गर्वबोध भरियो । फूर्तिसाथ टिचिङ अस्पतालको इमर्जेन्सी वार्डतिर कदम बढाउँदै थिएँ। खुलेको दिन, नीलो आकाशमा बादलका चक्की अनि अस्पताल परिसरमा फुलेका फूलहरु । एमबिबिएसको ५ वर्षे अध्ययनमा यस्तो रमाइलो अनुभूति कहिल्यै भएन सायद, यो दिन यति रोमाञ्चक लागिरहेको थियो। एकाएक पाइला टक्क अडिए ।

एम्बुलेन्सको साइरन अनि मान्छेहरुको रुवाबासीले मन चिसो भयो । भिडलाई छिचोल्दै इमर्जेन्सी रुममा पसेँ । भित्रको माहौल असाध्यै हृदयविदारक थियो । कैयौं शव भुइँमा लस्करै थिए । रगतमा लतपतिएका कति घाइतेहरु ऐया-आत्थु गर्दै थिए । अहिले पो सम्झेँ, आज एकाबिहानै धादिङमा बस दुर्घटना हुँदा कैयौंको मृत्यु अनि कैयौं घाइते समाचार सुनेकी थिएँ। हतार-हतार हातमा ग्लोब्स लगाएँ अनि नदुख्ने औषधि दिने, घाउ सफा गर्ने र रगत थामिदिने काममा लागेँ । घाइतेहरुको हालत र शवको लाइन देखेर मनमा भक्कानो फुटिरहेको थियो । कठै ती मृतकका आफन्त ! भर्खर चाडबाड मनाएर खुसीसाथ बिताएका पल नै अन्तिम बन्न पुग्यो। दुर्घटनामा यति क्षति हुनु आखिर गल्ती कसको ? एकछिन सोचमग्न भएँ । हिजोअस्ति हामीले बिरामीको उपचारमा लापरवाही गर्‍यौं भन्दै एकको ज्यान जाँदा अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्न पुग्ने जमात यतिबेला कता गए ? दिनभरको थकान भए पनि व्यस्तता छँदै थियो । बल्लतल्ल फुर्सद निकालेर चियाको चुस्की लिन माइला दाइको क्यान्टिनतिर लाग्छु । त्यति नै बेला त्यहाँ रहेको पत्रिकाको हेडलाइनमा नजर पुग्छ –'अब सिएमएले पनि बिरामी जाँच्न र औषधि प्रेस्क्राइब गर्न पाउने।' बाफ छुटिरहेको तातो चिया पनि बरफ जस्तो हुँदै पेटमा झरेर सिरिंग बनायो । आखिर के हुँदैछ मेरो देशमा ? आकाश पूरै मडारिए झैं भयो । १८ महिने तालिम गरेका विशेषज्ञले पूरै स्वास्थ्य सेवा दिन पाउने मेरो देशमा म मरीमरी दिनरात किन डाक्टरी डिग्री लिनुपर्ने त ? के मैले पाएको डिग्री मान्छे मार्ने ट्याग पाउने र कुटाइ खाने मेलो मात्र हो त? भारी भएको मनलाई पत्रिकाको अर्को पाना पल्टाएर शान्त गर्न खोजेँ, आँखा फेरि टक्क अडिए- 'एमबिबिएस र एमडी छात्रवृत्तिमा पढेका डाक्टरले कम्तीमा पनि २/२ वर्ष गाउँमा काम गर्नैपर्ने।' कुरो अलिक बुझ्न सकिनँ । आखिर एचए र सिएमएले गाउँ धान्ने जिम्मा लिएका मेरो देशमा हाम्रो उपस्थिति चाहिँ जटिल केस ह्यान्डल गरी बिरामी मारे भन्ने आरोप थाप्न मात्र हो त? वर्षौंदेखिको मिहिनेत र लगानी, चाडपर्वको रमाइलो र घरपरिवारको साथसँग साटिएको कामको चाप, सम्पूर्ण जीवनको सार उफ् मेरो पेशा ! यी र यस्तै बेथितिले आज म जस्ता चिकित्सा क्षेत्रमा भर्खर प्रवेश गरेकाहरु निराश छन् । आफ्नै देशमा बसेर काम गर्ने उनीहरुको जोश सक्किँदै छ। उपयुक्त सेवा-सुविधा अनि मिहिनेत अनुसारको तलब मिलेमा हामी हाम्रै गाउँ-समाजमा काम गर्न तयार छौं । सरकारले यसका लागि लोकसेवामा सिट बढाओस् । त्यसो भएमा गाउँको स्वास्थ्य सेवा सिएमएलाई जिम्मा लगाउनुपर्ने अवस्था रहने थिएन । आखिर कसले बुझोस् यी सब कुरा? सरकारले १८ महिना र १८ वर्षको पढाइलाई एउटै मानेर व्यवहार गरेको देखिन्छ । यसको नतिजा के हुन्छ भने, यस प्रकारको सरकारी निर्णयले भोलि देशमा एउटा सक्षम र दक्ष जनशक्तिको अभाव हुनेछ । चाहे त्यो चिकित्सा क्षेत्र होस् या अन्य क्षेत्रमा। २१औं शताब्दीमा धेरै कुरा अपडेट हुँदै जानुपर्नेमा मेरो क्षेत्र झन् पछाडि धकेलिएको देख्दा टीठ लाग्छ ।

आखिर तालिमको भरमा सिएमए डाक्टरले गर्ने उपचार र दिने औषधिले कुनै नकारात्मक परिणाम निम्त्याए त्यसको जिम्मा कसले लिने । त्यसबाट आखिरमा सिंगो चिकित्सा क्षेत्र नै बदनाम हुने होला। देश अनि पेशाविशेषमा रहेका धेरै समस्या र चुनौतीले गर्दा म जस्ता हजारौं डाक्टरको आकर्षण अमेरिका र अन्य देश बन्न थालेको छ । अचेल आफ्ना सिनिअरलाई पछ्याउँदै अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (युएस एमएलई) दिने अनि अमेरिकातिर कुलेलम ठोक्ने ट्रेन्ड नै बनिसकेको छ । को सहोस् आफ्नै देशमा सौतेनी व्यवहार अनि कति गर्नु हाम्रा पक्षले मात्र सम्झौता ! एकातिर ‘एक गाउँ, एक डाक्टर’ भन्ने ढोंगी योजना छ, अर्कातिर डाक्टरमाथि नै सौतेनी व्यवहार गरिएको छ । यो विरोधाभासमा आज हरेक डाक्टर डर र चिन्ताको सास फेरेर बस्न बाध्य छन् । न कामको कदर, न त मिहिनेत,समय र लगानी अनुसारको प्रतिफल । फलस्वरूप आज म जस्ता चिकित्सा क्षेत्रका कैयौं विद्यार्थीको युएस एमएलई दिएर अमेरिका जाने अन्तिम लक्ष्य भएको छ । आफ्नो देशले नबुझेपछि देशका हजारौं दक्ष जनशक्ति बाहिरिने अवस्था आएको हो। हुन पनि सोझो रुपमा हेर्दा यही मिहिनेत र परिश्रमले अन्यत्र सुन फलाउन सकिन्छ भने यहाँ को आलु खेती गरेर बसोस् ! सायद अबको दशकमा मेरो देशले प्रतिभावान् र मिहिनेती विद्यार्थीको मूल्य चुकाउनुपर्ने हुनसक्छ। त्यो विकराल अवस्था आउन नदिने राज्य र यहाँका सम्बन्धित निकायले सम्पूर्ण क्षेत्र सुधारका लागि एउटा सिस्टम र कानुन जरुरी छ । समग्र चिकित्सा क्षेत्रका बेथितिलाई किनार लगाउँदै स्वास्थ्यकर्मीको सेवा, सुविधा र अधिकारबारे रणनीति तय गर्नसके यो क्षेत्रको संकट ठेगान लाग्ला । अन्यथा म र म जस्तै विद्यार्थीले पलायनको सपना देख्नुपर्ला र देशले ठूलो मूल्य चुकाउनुपर्ला। अहिले प्रचलनमा